Header AD

म पेटमा कुरा लुकाएर बस्न नसक्ने युवती हुँ


रोशनी खत्री, मिस नेपाल अर्थ– २०१६
मिस नेपाल अर्थ–२०१६ मा (फस्ट रनर्सअप) आफ्नो नाम घोषणा हुनासाथ रुन थाल्नुभयो नि ? 
वास्तवमा मैले आफूलाई सेकेन्ड रनर्सअपको दाबेदारका रूपमा मात्र सीमित राखेकी थिएँ । सेकेन्ड रनर्सअपको विजेताका रूपमा वर्षा लेखीको नाम घोषणा भएपछि मेरो पालो आउँदैन भन्ने लागेको थियो । फस्ट रनर्सअपमा अचानक मेरो नाम घोषणा हुँदा सुरुमा त विश्वास नै भएन, नाम घोषणा भएपछि ताज लगाउन अघि बढ्ने क्रममा आफूलाई नियन्त्रण नै गर्न सकिनँ, रुन पो थालेछु । 

आफूलाई मिस नेपालकै दाबेदारचाहिँ मान्नुभएन ? 
हुन त सबैले आफूलाई विजेता नै दावा गर्छन्, तर मैले कहिल्यै आफूलाई विजेताका रूपमा लिइनँ । मेरो नजरमा अस्मि श्रेष्ठ तथा सिर्जना रेग्मी यो उपाधिको प्रमुख दाबेदार थिए । अस्मिले त मिस नेपालकै उपाधि जितिन्, सिर्जना रेग्मी टप फाइभबाट बाहिरिँदा कता–कता नरमाइलो पनि लाग्यो । 

सिर्जनाले फस्ट अथवा सेकेन्ड रनर्सअप जितेको भए तपाईं बाहिरिने सम्भावना रहन्थ्यो नि ? 
त्यो त हो, तर पनि करिब दुई महिना सँगै रहने क्रममा मैले उनको प्रतिभा नियाल्ने मौका पाएकी थिएँ । प्रशिक्षणका क्रममा उनले हामीलाई धेरै कुरा सिकाएकी थिइन् । 

मिस नेपाल–२०१६ को उपाधिको दाबेदार आफू होइन भन्ने कुरा कतिबेला अनुभव गर्नुभयो ? 
निर्णायक चरणमा जब अस्मि श्रेष्ठको जवाफ सुनें, मिस नेपालको उपाधि उनैले जित्छिन् भन्ने कुरामा ढुक्क भएँ । 

मिस नेपाल अर्थका रूपमा आफ्नो नाम घोषणा हुनासाथ के सोच्नुभयो ? 
सुरुमा त विश्वास नै लागेन, सपनाजस्तो भयो । आफूलाई सम्हालेर अघि बढ्ने क्रममा यति धेरै भावुक भएँ कि अचानक रुन थालेछु । लगत्तै मिस–२०१६ मा नेपालको प्रतिनिधित्व गर्दै विदेश जाने कुराले रोमाञ्चित भएँ । 

मिस नेपालअघि अन्य कुनै प्रतियोगितामा भाग लिनुभएको थियो ? 
कुनै पनि प्रतियोगितामा भाग लिएकी थिइनँ । कलेजमा अध्ययनरत छँदा गायन प्रतियोगितामा चाहिं भाग लिएकी थिएँ । त्यही प्रतियोगिताका लागि संगीतको प्रशिक्षणसमेत लिएकी थिएँ । 

मिस अर्थ–२०१६ को तयारी कहिलेदेखि प्रारम्भ गर्दै हुनुहुन्छ ? 
भर्खरै मिस नेपाल–२०१६ सम्पन्न भएको छ । हामी यतिबेला सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनमा व्यस्त छौं । केही समयपछि नै द हिडन ट्ेरजरले हामीले भाग लिने प्रतियोगिताका बारेमा जानकारी गराउनेछ । त्यसपछि मात्र मिस अर्थको तयारी थाल्नेछु । मिस अर्थका लागि एउटा भिडियो निर्माण गर्नुपर्नेछ । 

आफूलाई कत्तिको राम्री मान्नुहुन्छ ? 
म खासै राम्री छु जस्तो लाग्दैन, तर मेरा आँखा सुन्दर छन् भन्ने प्रतिक्रिया पाइरहन्छु । 

कस्ता पहिरन लगाउन रुचाउनुहुन्छ ? 
म फेसन कन्सस छु । परिवर्तित ट्ेरन्डलाई पछ्याइरहन्छु । 

तपाईं कस्तो स्वभावकी युवती ? 
म पेटमा कुरा लुकाएर बस्न नसक्ने, बोलिरहने स्वभावकी युवती हुँ । त्यसो त कतिपयले मलाई घमन्डी पनि भन्छन्, तर म घमन्डी छैन । 

फुर्सदमा के गर्नुहुन्छ ? 
पुस्तक पढ्न मन पराउँछु । मनमा लागेका कुरा लेख्छु । त्यसबाहेक म संगीतको विद्यार्थी पनि हुँ, त्यसैले फुर्सदमा संगीतको अभ्यास पनि गर्छु । 
म पेटमा कुरा लुकाएर बस्न नसक्ने युवती हुँ  म पेटमा कुरा लुकाएर बस्न नसक्ने युवती हुँ Reviewed by Admin on 5:21:00 AM Rating: 5

No comments

Post AD