संसदमा प्रभावकारी भूमिका खेल्न कांग्रेसले समिति बनाउने
कांग्रेसले व्यवस्थापिका संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउन संसदीय समिति गठन गर्ने भएको छ । संसदीय दल कार्यसमितिका सचिव ध्रुव वाग्लेका अनुसार बिहीबार बस्ने बैठकले पार्टीका १३ संसदीय समिति गठन गर्न लागेको हो । मन्त्रालयका कामकारबाही निगरानी राख्न छुट्टै विषयगत उपसमितिसमेत गठन हुनेछन ।
व्यवस्थापिका संसद अन्तर्गतकै विषयगत समितिमा रहेका सदस्यहरू नै पार्टीको संसदीय समितिमा सदस्य हुनेछन् । तिनै सदस्यमध्येबाट एकजनालाई संयोजक तोकिने मापदण्ड बनाइएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले समितिका संयोजकहरूसमेत अनौपचारिक रूपमा तय गरिसकेका छन् । संयोजक र नामावलीका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बुधबार परामर्श गरी बिहीबारको बैठकले अनुमोदन गर्नेछ । भूकम्प पुनर्निर्माण आयोग र स्थानीय निकायको पुनर्संरचना आयोगका कामकारबाहीलाई निष्पक्ष रूपमा सम्पादन गर्न अनुगमन तथा निगरानी राख्नसमेत छुट्टै समिति बनाउने तयारी नेता देउवाको छ ।
सभापति देउवाले दलको कार्यसमितिलाई बुधबार नै पूर्णता दिने तयारी गरेका छन् । दलको विधानअनुसार देउवाले तीन महिलासहित ९ सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । बाँकी ५ सदस्य देउवाले बुधबार मनोनीत गर्न लागेको स्रोतले बतायो । सचिव वाग्लेका अनुसार समितिका संयोजक र मनोनीत सदस्यहरूसमेत समावेशी तथा सन्तुलित ढंगबाट बनाइन लागिएको छ ।
संसदमा प्रभावकारी भूमिका खेल्न कांग्रेसले समिति बनाउने
Reviewed by Admin
on
10:08:00 AM
Rating:
Reviewed by Admin
on
10:08:00 AM
Rating:


Post a Comment